हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापा । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–७, निवासी ५३ वर्षीय गिरेन कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान ४ बजेको समयमा हल्दिबारी गाउँपालिका-२ स्थित देउनियाँ खोलाको पुलबाट ३०० मिटर उत्तरमा रहेको महेन्द्र पोखरेलको चिया बगान छेउमा कर्मकार जंगली च्याउ टिप्न गएका थिए । सोही चिया बगानमा रहेका हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा मृत्यु भएको हो ।
घटना लगतै हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेको छ । शवको कानूनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जनाइएको छ ।
