चट्याङ लागेर एकैदिन ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा मनसुन भित्रिएसँगै देशभर वर्षा भइरहेको छ । वर्षासँगै परेको चट्याङ लागेर शनिबार एकैदिन देशका विभिन्न स्थानमा ६ जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर दाङमा २ जना, काकस्कीमा एक जना, बाग्लुङमा २ जना र गुल्मीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङको दंगीशरण गाउँपालिका–६ बागर बस्ने ३२ वर्षीय समीर केसी र सोही गाउँपालिका–३, चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आ–आफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, कास्कीको पोखरा महानगरपालिका–२३ हर्पन बस्ने ४९ वर्षीय देवबहादुर विकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको ढोका लगाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५, पाखापानी बस्ने चित्रबहादुर बिकको छोरा ६ वर्षीय दिनेश बिक र छोरी ९ वर्षीया सुनिता बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ ।
यसैगरी, गुल्मीको मालिका गाउँपालिका–८ फल्लेनी बस्ने ४० वर्षीया विष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।