हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात अवरुद्ध

तु खबर संवाददाता
२०८० असार ९, शनिबार ०९:२३
file photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथमा आज बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडास्थित अविरल वर्षाका कारण आज बिहान पौने ८ बजेको समयमा पहिरो जाँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, ललितपुरको भट्टेडाँडा नजिकै प्रहरी चौकीको दक्षिणतर्फ गएको पहिरो मकवानपुरको सिमाना नजिकै पर्दछ । पहिरोका कारण हेटौंडाबाट काठमाडौंतर्फ र काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको सवारीसाधनलाई लामबद्ध गरी राखिएको छ ।

काठमाडौंबाट कान्तिलोपथ हुँदै हेटौंडातर्फ आउँदै गरेको सवारीसाधनहरुलाई ललितपुरको भट्टेडाँडा प्रहरी चौकी र हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको सवारी साधनहरुलाई मकवानपुरको ठिंगन प्रहरीले ठिंगनमा रोकी राखिएको जनाइको छ ।

आज बिहानैदेखि पानी परिरहेकोले मौसम सुधार नआएसम्म पहिरो पन्छाउन कठिनाई हुने भन्दै प्रहरीले मौसममा सुधार आएसँगै पहिरो पन्छाएर दुबैतर्फको यातायात संचालनमा ल्याउने प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार, हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी हुँदै फाखेल, सिस्नेरी सडकखण्डमा भने हाल सवारीसाधन संचालनमा रहेको छ ।