बागमतीमा एकैदिन ३ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशको छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, रामेछाप र दोलखा जिल्लामा एकैदिन तीन जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–९, केन्द्रीय बसपार्क काउण्टर नजिक एक पुरुषको शव फेला परेको छ । उक्त शव भारतको मोतिहारीका ५५ वर्षीय अरुण प्रसाद रहेको प्रहरीले जनाएको छ ।
यस्तै, रामेछपको सुनकोशी गाउँपालिका–७, पाङग्रेटारमा एक पुरुषको शव फेला परेको छ । सुनकोशी खोलाको बिच भागमा हाल नामथर नखुलेको ३५ वर्षीय पुरुषको शव ढुङगामा अड्किएर घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जानएको छ ।
यसैगरी, प्रदेशको दोलखा जिल्लाको जिरी नगरपालिका–७, खावामा बाटोमा हिँड्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मत्यु हुने ६५ वर्षीया चिडोमा शेर्पा रहेको प्रहरीले जनाएको छ । शेर्पा आफ्नै घरदेखि १० मिटर पूर्वतर्फ गोरेटो बाटोबाट ४ मिटर तल कान्लामा लडी बेहोस अवस्थामा उनको बुहारीले फेला पारेकी थिइन् । शेर्पालाई उपचारका लागि बैतेश्वर अस्पताल मैनापोखरीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
