हेटौंडाबाट अबैध कपडासहित ४ जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० असार २, शनिबार १५:४४
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टबाट प्रहरीले अवैध कपडा र सामानसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले शुक्रबार एकैदिन ३ लाख ५० हजार रुपैयाँ बराबरको अबैध कपडा र सामानसहित ४ जनालाई नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले शुक्रबार काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ०३–००१ ख २३१४ नम्बरको बसमा चेकजाँच गर्दा बसको डिक्कीभित्र रेहको जेब्रा झोला भित्र चिज ९० पिस प्रतिपिस १ किलाग्रामको अमुल बटर ३० पिस, प्रतिपिस ५०० ग्रामको र अमुल फ्रेस क्रिम ७ काटुन प्रत्येक काटुनमा १२ पिस तौल नखुलेको अबैध सामान बरामद भएको प्रहरीले जनाएको छ । उक्त सामानको मूल्य १ लाख रुपैयाँ बराबरकोे रहेको छ ।

यस्तै, प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट २ लाख मूल्य बराबरको अबैध कपडासहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा हुनेहरुमा पर्साको वीरगंज महानगरपालिका–८ का २८ वर्षीय सुनिल महरा र १८ वर्षीय धर्मेन्द्र पटेल रहेका छन् ।

शुक्रबार चुरियामाईबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह २९१० नम्बरको अटोलाई चेकजाँच गर्दा हाफ टिसर्ट ४२ पिस, कटन पेन्टी ३० पिस, फुल सर्ट २८ पिस, साडी १२४ पिस गरी १ लाख ९० हजार रुपैयाँ बराबरको अबैध कपडा बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी, शुक्रबार नै हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट ५० हजार बराबरको अबैध कपडासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा हुनेहरुमा बाराको ईतिहाई गाउँपालिका–५ की ३० वर्षीया सगुन नेस र हेटौंडा–८, कमाने बस्ने ५९ वर्षीय साबित्री खड्का रहेका छन् ।

चुरियामाईबाट हेटौंडातर्फ पैदल आउँदै गरेका खड्का र नेसाले बोकेको झोला चेकजाँच गर्दा भन्सार छली ल्याएको ५ थान लेडिज कपडाको सुरुवाल र ७ थान जेन्सको कपडाको पाईन्ट फेला पारेको प्रहरीले जनाएको छ ।

अबैध कपडा र उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।