हेटौंडामा ‘कोरा’ साइकलयात्रा हुँदै

तु खबर संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १७:५१

मकवानपुर । हेटौंडामा आगामी असार ३० गते ‘कोरा’ साइकलयात्राको आयोजना गरिने भएको छ । उक्त साइकलयात्रा हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा हुने भएको हो ।

विश्वभरीका साइकलयात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी धार्मिक महोत्सवको रुपमा मनाइने ‘कोरा’ साइकलयात्रा हेटौंडामा पनि मनाउने भएको हो ।

साइकलयात्रामा कम्तिमा दुई सय जना साइकलयात्रीले सहभागिता जनाउने हिमालयन राइडर्स सोसाइटी मकवानपुरका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । सोसाइटीका अध्यक्ष श्रेष्ठनले हेटौंडा कोरा च्यालेन्ज २०२३ मा सहयात्रा गर्न इच्छुक साइकलयात्रीलाई आह्वान गरेका छन् ।

यो वर्षको कोरा साइकलयात्रा करिब २१ किमिको हुने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले जानकारी दिए । हुप्राचौरको पशुपतिनाथ मन्दिरबाट सुरु भई कुष्माण्ड सरोबर (त्रिवेणीधाम), जलेश्वर, मुक्तिनाथ, बिन्द्यवासिनी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, भुटनदेवी मन्दिर परिक्रमा गरी कोरा साइकलयात्रा समापन गरिने उनले बताए ।