हेटौंडाको जनप्रिय माविलाई खानेपानी फिल्टर हस्तान्तरण
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ स्थित जनप्रिय माध्यमिक विद्यालयलाई ६ वटा खानेपानी फिल्टर हस्तान्तरण गरिएको छ । विद्यालयलाई एसएलसी ब्याच २०६८ को विद्यार्थी समूहले आज एक कार्यक्रमबीच उक्त फिल्टर हस्तान्तरण गरेको हो ।
कार्यक्रममा पूर्व विद्यार्थी सन्जुला ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले पनि पूर्व विद्यार्थीहरु समग्र विद्यालयकै प्रतिविम्वन भएकोले उनीहरुको अभियानमा प्रतिवद्धता जनाउँदै आफ्नो तर्फबाट समेत १ थान फिल्टर थप गरिएको जानकारी दिइन् । यससँगै विद्यालयलाई ६ वटा फिल्टर प्राप्त भएको हो ।
कार्यक्रम विद्यार्थी समूहका संयोजक रुपक विकको सभाध्यक्षाता तथा हेटौंडा उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा भएको हो ।
आफूहरु पढेको समयमा विद्यालयमा पानीको व्यवस्थापन हुन नसक्दा विद्यालय नै बन्द गर्नुपरेको स्मरण गर्दै कम्तिमा आफ्नो कमाईबाट केही रकम छुट्याएर भएपनि शुद्ध पानी आपूर्तीका लागि त्यस्तो अभाव हुन नदिन विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको ती विद्यार्थी समूहले बतायो ।
यस्तै, प्रमुख अतिथि कोईरालाले उनीहरुको यस्तो कार्य अत्यन्तै सकरात्मक रहेकोमा खुसी व्यक्त गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट सकेको कार्य गर्ने हो भने देश विकासको गतिमा अगाडि बढ्न कसैले नरोक्ने बताए ।
विद्यालय व्यवस्थापन समितका अध्यक्ष रमेशप्रसाद खतिवडाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरु, विद्यालयका प्रअ चौलागाई, जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख डा.विजय नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पूर्व विद्यार्थी आशिष बास्तोलाले सहजीकरण गरेको कार्यक्रममा विव्यस अध्यक्ष रमेशप्रसाद खतिवडाले आफ्ना सन्तान पनि यसै विद्यालयका पूर्व विद्यार्थी भएकाले १ थान फिल्टर आफ्नो तर्फबाट थप गर्ने घोषणा समेत गरे ।
