पिउने पानी र सरसफाईमा ध्यान दिन अस्पताललाई निर्देशन
काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुलाई स्वच्छ पिउने पानी र सरसफाईमा थप ध्यान दिन निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाईको उचित व्यवस्थापन नभएको पाइएको भन्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले गर्मी मौसममा सर्पदंश, आगलागी, झाडापखाला, डेंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै विरामीलाई उपचार सेवा पुर्याउन सक्ने गरी आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पतालहरुलाई निर्देशन दिएको छ ।
साथै मन्त्रालयले गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय स्वरुप स्थानीय स्तरका रेडियो, एफएम र पत्रपत्रिकामार्फत जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पतालहरुलाई आग्रह गरेको छ ।
