मानव सेवा आश्रम हेटौंडामा हाल २१५ जना आश्रित
मकवानपुर । मानव सेवा आश्रम हेटौंडामा हाल २१५ जना आश्रित रहेका छन् । घरपरिवार र आफन्त बिहीन वृद्धवृद्धा र मानसिक रुपमा विक्षिप्त भई सडक आश्रित बनेका व्यक्तिहरुलाई संरक्षण गर्दै आएको उक्त आश्रममा हाल २१५ जना आश्रित रहेको मानव सेवा आश्रम केन्द्रीय कार्यालय हेटौंडाले जनाएको छ ।
आश्रममा हालसम्म १ हजार ५१६ जनाको उद्धार गरिएको छ । जसमा ९८४ जना पुरुष र ५३२ जना महिला रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
आश्रमले ७७८ जनालाई पारिवारिक पुनर्मिलन गराएको केन्द्रीय अध्यक्ष अधिकारीले बताए । आश्रममा हालसम्म सेवा लिदाँलिदै १७५ जनाको मृत्यु भएको छ भने ३९३ जनाले अल्पकालीन सेवा लिएको अध्यक्ष अधिकारीले बताए ।
आश्रमबाट ४४ जनाले सामुदायिक पुर्नस्थापना भई स्वावलम्बी जीवन निर्वाह गरिरहेका छन् भने २९ जनालाई पुनः उद्धार गरिएको छ । आश्रममा हाल १९ जनाको स्थानान्तरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
