‘सामन्ती कुप्रथाको अन्त्यका निम्ति सामाजिक अभियान जरुरी छ’

तु खबर संवाददाता
२०८० जेष्ठ १८, बिहीबार ०९:१३

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामन्ती कुप्रथाको अन्त्यका निम्ति ठूलो सामाजिक अभियान जरुरी रहेको बताएका छन् ।

दलित महिला संघले सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा बुधबार हेटौंडामा आयोजना गरेको न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको प्रदेशस्तरीय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले जातको आधारमा गरिने विभेद र विभाजन स्वीकार्य नहुने बताउँदै छुवाछुत, भेदभाव, दमन र उत्पीडनको विषयमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए ।

दलित समुदायको अधिकारका निम्ति बागमती प्रदेश सरकार सचेत रहेको र आगामी दिनमा पनि रहने दृढता व्यक्त गरे ।

बुधबारबाट सुरु भएको दलित महिलाहरुको प्रदेशस्तरीय सम्मेलन आज बिहीबारसम्म संचालन हुने दलित महिला संघका केन्द्रिय अध्यक्ष कला स्वर्णकारले बताइन् ।