आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । यस्तै, आज राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
