दलित महिला संघद्वारा १६ बुँदे घोषणापत्र जारी
मकवानपुर । न्याय, समानता र सम्मानको लागि दलित महिलाहरुको प्रदेश स्तरीय २ दिने सम्मेलनबाट १६ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । बुधबारबाट सुरु भएको सम्मेलन आज घोषणापत्र जारी गर्दै सकिएको हो ।
दलित महिला संघकी केन्द्रीय अध्यक्ष कला स्वर्णकारको अध्यक्षतामा भएको घोषणापत्र जारी कार्यक्रममा संघकी संस्थापक अध्यक्ष दुर्गा सोबको प्रमुख आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्यसमेत रहेकी मकवानपुरका अध्यक्ष पवित्रा विश्वकर्माले १६ बुँदे घोषणापत्र पढेर सार्वजानिक गरेकी थिइन् ।
छलफलबाट निस्किएका मुद्दाहरुः गरिबी, रोजगारी, समानुपातिक प्रतिनिधित्व, निशुल्क शिक्षा, अन्तरजातीय विवाह, छुवाछुत, चेलीबेटी बेचविखन, बालविबाह एच.आई.भि.एड्सको खतरा, बहुविवाह, बलात्कार, प्रजनन् स्वास्थ्य, महिलामाथि हुने विभिन्न हिंसा, आत्मसम्मान, अपाङ्गता, एकल महिला आदि लगायत अन्य मुद्दाहरु र यसबाट पर्ने नकारात्मक असरहरुलाई मध्यनजर गर्दै, दलित महिलाका मुद्दासहित १७ बुँदे हेटौडा घोषणा—पत्र जारी गरिएको अध्यक्ष विश्वकर्माले बताइन् ।
प्रदेशका १३ जिल्लाका स्थानीय तहमा रहेका दलित महिला सदस्य जनप्रतिनिधिहरुको सहभागितामा भएको दुई दिने सम्मेलनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्बोधन गरेका थिए । जारी गरिएको घोषणापत्रलाई विहीबारनै मुख्यमन्त्रीलाई हस्तान्तरण गर्ने जनाइएको छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुना परियार, पूर्व प्रतिनिधि सभा सदस्य पार्वती बिसुन्खे, नेकपा एसका प्रदेश कमिटी अध्यक्ष बन्दना सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।
