वातावरण दिवसको अवसरमा विविध कार्यक्रम
मकवानपुर । ५१ औं विश्व वातावरण दिवसको अवसरमा आज हेटौंडामा सार्वजनिक सवारी साधनमा वातावरण सन्देश मुलक स्टिकर टाँस्ने, डस्विन वितरण र बृहत रक्तदान कार्यक्रम गरिएको छ ।
दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाले आयोजना गरेको साताव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन उक्त कार्यक्रम गरेको हो । नगर समन्वय समिति हेटौंडाले विभिन्न संघसंस्थाको समन्वयमा सो कार्यक्रमको आयोजना गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघ, सामुदायिक प्रहरी सेवा केन्द्र र ट्राफिक प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा प्रवेश नाका हेटौंडा–१५, रातोमाटेमा सार्वजनिक सवारी साधनहरुको वातावरण सन्देश मुलक स्टिकर टासिएको हो ।
यस्तै, राजमार्गमा फोहोर फ्याल्ने कार्य न्यूनीकरण गर्ने उद्देश्यले यात्रु बाहक सवारी साधनमा करिब ६०० भन्दा बढी सन्देश मुलक स्टिकर टास्ने तथा फोहर संकलन गरि राख्न डस्टबिन वितरण गरिएको नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा–११ को आयोजना बृहत रक्तदान कार्यक्रम गरिएको अध्यक्ष अधिकारीले बताए । हेटौंडा–११ को सहयोगमा आयोजना भएको कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारी, स्थानीयहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा हेटौंडा–११ का अध्यक्ष जुना दाहाल, न्यायिक समिति सदस्य ज्ञान बहादुर थापा, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, ट्राफिक प्रहरी प्रमुख बसन्त आचार्य, हेटौंडा उपमहानगरपालिका वातावरण शाखा प्रमुख चन्दा खड्का, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ लगायत विभिन्न टोल विकास संस्थाका सदस्यहरू लगायतको सहभागीता रहेको थियो ।
