अस्पतालको शौचालयमा युवकको शव फेला
विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवकको शव फेला परेको छ । मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार, ती पुरुष आज बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
मृतकले आफैंले लगाएको हरियो कपडा (गाउन) को पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
१३ वर्षीय छोरीलाई करणी गरेको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गर्नलाई जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याएको समयमा पनि उनले आत्महत्या प्रयास गरेका थिए ।
प्रहरीका अनुसार, जेठ १४ गते आइतबार दिउँसो २ बजेतिर घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि म्याद थप नगरी उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो ।
