बिपदबाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न हेटौंडामा डेमो प्रर्दशन
मकवानपुर । बिपदबाट हुन सक्ने क्षतिको न्यूनिकरणको लागि पूर्व तयारी स्वरुप सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले डेमो प्रर्दशन गरेको छ ।
सोमबार हेटौंडा–११ स्थित राप्तिखोलामा रहेको झोलुङ्गे पुल मुनि बिपदले पुर्याउने क्षतिलाई न्यूनिकरण गर्न सकिने उपायहरुका लागि जल बिपद् उद्धार सम्बन्धी अभ्यासहरु प्रस्तुत गरिएको हो ।
प्रकोप पश्चात उद्धार सुरक्षाकर्मीहरुको भूमिका कस्तो रहने र सूचना प्रबाहमा कसरी ध्यान दिने भन्ने कुरा सशस्त्र प्रहरीहरुद्वारा अभ्यास प्रस्तुत गरिएको थियो ।
अभ्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले बिपदको बेलामा हतोत्साहित नभईकन स्थानीय स्रोत र साधनको सही तरिकाले उपभोग गर्न सकेमा आफु सुरक्षित रहनुका साथै समुदायका अन्य व्यक्तिहरुलाई समेत सोही विधिको प्रयोगद्वारा सुरक्षित पार्न सकिने सन्देश दिन यस्ता अभ्यासहरुले चेतना फैलाउने बताइन् ।
उनले बिपदबाट बचाउने प्राबिधिक सामाग्रीहरु खरिदका लागि उपमहानगरले थालनी गरिसकेको बताउँदै बिपद आउनुपुर्वनै यसबाट सचेत रहन नागरिकहरुलाई आग्रह गरिन् । सशस्त्र प्रहरी बलले हेटौंडामा विभिन्न समयमा आईपरेका बिपदका घट्नामा खेलेको भूमिकाबारे प्रशंसा गर्दै उपमहानगर हरेक कार्यमा सहयोग गर्न तयारी रहेको बताइन् ।
यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुर्ब गैडाले सशस्त्र प्रहरीद्वारा सचेतनाका लागि बिपदबाट बच्न देखाईएको प्रत्यक्ष अभ्यासले पनि जनधन क्षति हुनबाट कम हुने बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बिपदका बेला सबैभन्दा पहिला मानविय क्षतिबाट बच्ने उपायहरु अबलम्बन गर्न यस्ता अभ्यासहरुले सहयोग पुग्ने बताए । जोखिमका बेला आत्तिएर भन्दा पनि आफै चनाखो भएर सुरक्षा निकायको सहयोग लिनतर्फ लाग्न जोड दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेड क्वाटर मकवानपुरका गणपति अनिल कार्कीले सशस्त्र प्रहरी बल नेपालको स्थापनाकालदेखि नै विभिन्न किसिमका प्रकोपहरू (भुकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागी) जस्ता मानविय तथा प्रकृतिक प्रकोपहरुमा उद्धार कार्य तथा जोखिम न्यूनीकरणका लागि काम गर्दै आएको बताए ।
नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपकै कारण धेरै जनधनको क्षति हुने गरेको बताउँदै गणपती कार्कीले कुनै पनि बिषद् र बिपदसँग सम्बन्धित जनचेतना अभिवृद्धि तथा बिपद् पश्चात तत्काल उद्धार कार्य गर्न सक्षम, कुशल एवम् तालिम प्राप्त दक्ष जनशक्ति उत्पादनका साथ साथै विभिन्न किसिमका प्रकोपका घटनाहरुबाट जनधनको क्षतिबाट बचाउन सचेतना सहित यो कार्यक्रमको आयोजना गरिएको बताए ।
अभ्यासमा उद्वारकहरुले पानी जन्य बिषदबाट बच्नको लागि स्थानीय स्तरमा प्राप्त हुने स्रोत साधनहरुवाट विभिन्न उपकरणहरु तयार पारी प्रदर्शन गरेका थिए । बिपदबाट बच्न प्लाष्टिकको बोतललाई मालामा जोडेर कम्मरमा बाँधी पानिमा सजिलैसंग तैरिन सकिने, केराको थामलाई काठ तथा डोरीको सहायताले एक अर्कामा जोडेर प्रयोग गर्न सकिने, घरमा रहेको म्याट्रेसलाई सही तरिकाले प्रयोग गरी नदी तथा तलाउमा पौडीकला नभएका व्यक्तिहरु पनि सजिलैसंग पानीमा तैरिन सकिने लगायतका प्रयोगहरु देखाईएको थियो ।

कार्यक्रममा नेपाली सेना गोरखबहादुर गणका गणपती गोविन्दराज घिमिर, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतम, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय मकवानपुरका उपअनुसन्धान निर्देशक पप्पू शर्मा पौडेल, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघसंस्था, क्लब तथा टोल विकास संस्थाका प्रतिनिधिहरु, विभिन्न स्कुलका शिक्षक एवम् विद्यार्थीहरु तथा स्थानीय बासिन्दाहरुको सहभागीता थियो ।

