हेटौंडा बुद्धिचाल प्रतियोगिताको उपाधि जैसवाललाई

तु खबर संवाददाता
२०८० जेष्ठ ३, बुधबार ०९:१७

मकवानपुर । हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधि रुपेश जैसवालले जितेका छन् । मंगलबार हेटौंडा–११, स्मारक होटलमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि जैसवालले जितेका हुन् ।

उपाधि जितेसँगै जैसवालले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगितामा सुरविर लामाले दोश्रो स्थान प्राप्त गरिन् भने अनिल राजबाहकले तेस्रो स्थान प्राप्त गरे । उनीहरुले क्रमशः नगद ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा कुल २१ जना पुरस्कृत भएका छन् । प्रतियोगितामा चौथो र पाँचौ स्थानमा क्रमश: विलमलाल श्रेष्ठ तथा सुस्रत दाहाल भए । उनीहरुले नगद २० हजार प्राप्त गर्दा प्रतियोगितामा छैँठौदेखि १० औं स्थानसम्मका क्रमशः पुरुषोत्तम चौँलागाई, कृष्ण थापा, क्षितिज भण्डारी, निकेन कुवास्थ तथा श्रीलंकाकी एसडि रणसिंङ्गेले जनही १५/१५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

यस्तै, प्रतियोगितामा बेस्ट लोकल सुन्दर कार्की, वेष्ट महिला खेलाडी सिन्धिरा जोशी, वेष्ट भेट्रान नविन ताण्डुकार,वेष्ट यु–१२ अबिन पाण्डे, बेष्ट यु–१४ आयुष डेमनदौरा, यु–१६ तर्फ पुरुषोत्तम सिलवाल, यु १८ तर्फ रिसोन थापा विजयी हुँदा बेष्ट अनरेटेडमा रुपेशप्रसाद पालिखेल, बेष्ट रेटिङ १४०० मा सुजन कुमाल, बेष्ट रेटिङ १६०० मा निशान श्रेष्ठ तथा १८०० मा खोमप्रसाद तिमल्सीनाले जित हाँसिल गरे । उनीहरुले जनही १०/१० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा विजेताहरुलाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, पुर्व मन्त्री, नेपाल चेसका पुर्व केन्द्रीय अध्यक्ष एकालाल श्रेष्ठसहित अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा भएको हो । गत बैशाख २९ गते शुक्रबारबाट सुरु भएको उक्त प्रतियोगिता ५ दिनसम्म संचालन भएको थियो । प्रतियोगिताको लागि होटल स्मारकमा आवासीय सुविधाको व्यवस्था गरिएको थियो ।