सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते

तु खबर संवाददाता
२०८० जेष्ठ २, मंगलवार १५:०९
file-photo

काठमाडौं । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम यही जेठ ५ गते सार्वजनिक गर्ने भएको छ । मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीचको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ मा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद्, बजेट र नीति तथा कार्यक्रमबारे छलफल भएको थियो । यसअघि जेठ ३ मा नीति तथा कार्यक्रम ल्याउने तयारी भए पनि प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जेठ ४ गतेलाई तय भएकाले जेठ ५ गते प्रस्तुत गर्न लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

बजेट भाषणअघि सरकारले संसदमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्ने प्रचलन रहे पनि यो पटक राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपतिले वाचन सुरु गरे पनि प्रधानमन्त्रीले पूर्ण वाचन गर्नेबारे दलहरूबीच छलफल भइसकेको छ ।