चलचित्र पत्रकार संघ मकवानपुरले विभिन्न विधामा पुरस्कार प्रदान गर्ने

तु खबर संवाददाता
२०८० बैशाख ३१, आईतवार ०८:४२

मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले विभिन्न विधामा पुरस्कार प्रदान गर्ने भएको छ । संघले आगामी जेठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न विधाका तीन जनालाई पुरस्कार प्रदान गर्ने भएको हो ।

संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट वरिष्ठ पत्रकार राजन घिमिरेलाई प्रदान गर्ने भएको संघका अध्यक्ष कपिल खड्काले जानकारी दिए । अध्यक्ष खड्का अनुसार, घिमिरेलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्रको राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको हो ।

घिमिरे चलचित्र पत्रकार संघ नेपालका संस्थापक कार्यसमित सदस्य समेत हुन । उनी करीब तीन दशक देखी पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

यसैगरी, संघले यो वर्षको चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी (कुमार) लाई प्रदान गर्ने भएको छ । अधिकारीलाई नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने भएको अध्यक्ष खड्काले बताए ।

यस्तै, कलाकारहरुलाई सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको चलचित्रकर्मी सम्मानबाट यस वर्ष कलाकार सुलेमान शंकर ईकुलाई प्रदान गरिने अध्यक्ष खड्काले बताए ।