मकवानपुर प्रहरीद्वारा ५३२३ किलो गाँजा बरामद
मकवानपुर । मकवानपुर प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्ममा ५ हजार ३२३ किलो ४८९ ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।आव २०७९/८० को थत साउन महिनादेखि हालसम्म आइपुग्दा सो परिणामको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए ।
गौतमका अनुसार, उक्त गाँजा आव २०७०/०७१ यताकै सबैभन्दा बढी बरामद भएको हो । आव २०७०/०७१ मा मकवानपुर प्रहरीले २ हजार ५८० किलो ८०० ग्राम गाँजा बरामद गरेको थियो । त्यसयताको तथ्याङ्क हेर्दा आव २०७९/०८० को हालसम्म सबैभन्दा बढी गाँजा बरामद गरिएको मकवानपुरका प्रहरी प्रमुख गौतमले जानकारी दिए ।
प्रहरीको तथ्याङ्क अनुसार, आव २०७२/०७३ मा ३ हजार २४३ किलो ९४४ ग्राम, आव २०७३/०७४ मा १ हजार ९४० किलो ८२५ ग्राम, आव २०७४/०७५ मा १ हजार ११० किलो ३६७ ग्राम, ०७५/०७६ मा ३ हजार १९८ किलो ५३० ग्राम, ०७६/०७७ मा १ हजार ६४६ किलो ६० ग्राम, ०७७/०७ मा १ हजार ७८९ किलो ९४३ ग्राम र ०७८/०७९ मा २ हजार ६६२ किलो ४९२ ग्राम गाँजा बरामद भएको हो ।
प्रहरी प्रमुख गौतमले गाँजासँगै लागूऔषध अफिम, खैरो हिरोइन, चरेश, नाइट्रोभेट ट्याव्लेट, डाईजेपाम ट्याव्लेट पनि ठूलो परिमाणमा बरामद भएको बताए ।
