‘मजदुरहरुले देश निर्माणका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन हुनुपर्छ’

तु खबर संवाददाता
२०८० बैशाख १८, सोमबार ०८:२४
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मजदुरहरुले देश निर्माणका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएका छन् ।

आज मे १ मा मनाइँदै गरिएको १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले आफ्नो अधिकारका लागि लड्ने मजदुरहरुको विशेष दिनलाई स्मरण गरिरहँदा उनीहरुले देश निर्माणका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएका हुन् ।

प्रदेश प्रमुख शर्माले जारी गरेको शुभकामना सन्देशमा सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक संघर्षमार्फत् मजदुहरुले अधिकार पाएको दिनका रुपमा आजलाई लिइने उल्लेख गरिएको छ ।

नेपालको विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको सन्दर्भ उल्लेख गर्दै भनिएको छ, ‘हाम्रो देश नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकहरुको अमूल्य योगदान रहेको छ ।’

प्रदेश प्रमुखको शुभकामनामा लेखिएको छ,‘नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको छ ।’

प्रमुख शर्माको शुभकामना सन्देशमा श्रमिकहरुका अधिकारका सवालमा सबै पक्ष जिम्मेवार बन्नुुपर्नेमा जोड दिए । प्रदेश प्रमुख शर्माले सो दिवसले संसारभरका सम्पूर्ण श्रमजिवीहरुलाई एउटै सूत्रमा बाँधी आफ्नो हक, अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् भन्ने कामना समेत गरेका छन् ।