कर्णालीका मुख्यमन्त्री शर्माले लिए तेस्रो पटक विश्वासको मत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन् । मुख्यमन्त्री शर्माले चार महिना भित्रमा तेस्रो पटक विश्वासको मत लिएका हुन् ।
शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् ।
नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एक जना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।
त्यस्तै, नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले विपक्षमा मतदान गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए ।
मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए । यसअघि पहिलो पटक शर्माले माघ ६ मा विश्वासको मत लिएका थिए ।
