हेटौंडा उपमहानगरपालिकामा ६३ वटा बालश्रमको उजुरी दर्ता

तु खबर संवाददाता
२०८० बैशाख १३, बुधबार ०९:३७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ६३ वटा बालश्रमसम्बन्धी उजुरी परेको छ । उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको तयारी थालेपछि उपमहानगरमा ६३ वटा बालश्रमसम्बन्धी उजुरी परेको हो ।

जसमध्ये हेटौंडा–१ बाट एउटा, हेटौंडा–२ बाट एउटा, हेटौंडा–३ बाट ३ वटा, हेटौंडा–४ बाट ९ वटा, हेटौंडा–५ बाट ५ वटा, हेटौंडा–७ बाट २ वटा, हेटौंडा–८ बाट ३ वटा, हेटौंडा–९ बाट एउटा, हेटौंडा–१० बाट ६ वटा, हेटौंडा–११ बाट ८ वटा, हेटौंडा–१३ बाट ४ वटा, हेटौंडा–१४ बाट ३ वटा, हेटौंडा–१५ बाट ७ वटा, हेटौंडा–१७ बाट २ वटा, हेटौंडा–१८ बाट ३ वटा र हेटौंडा–१९ बाट ५ वटा बालश्रमसम्बन्धी उजुरी परेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार, हेटौंडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको तयारी सुरु गरेपश्चात् वडा नम्बर ६, १२ र १६ बाट भने बालश्रमसम्बन्धी उजुरी आएको छैन ।

५५ जना बालक र ८ जना बालिका बालश्रमिकमध्ये हालसम्म ४ जना बालश्रमिक बालबालिका विद्यालय नगएका पाइएको महाशाखाकी प्रमुख लामिछानेले जानकारी दिए ।

उजुरीका आधार बालबालिकालाई उद्दार गरिने क्रममा भारतीय ७ जना, बाहिरी जिल्लाका २१ जना र मकवानपुर जिल्लाका ३३ जना बालबालिका श्रममा रहेको पाइएको हो ।

रेष्टुरेन्ट÷होटल व्याङक्वेटबाट १२ जना, ग्यारेज/वर्कशपबाट २२ जना, निर्माण÷ढुवानीबाट ७ जना, घरायसी काममा ३ जना, कवाडीबाट २ जना, कटन क्यान्डीबाट ३ जना, यातायातबाट १२ जना, फ्याक्ट्रीबाट २ जना बालबालिकालाई श्रम गरिरहेका अवस्थामा उपमहानगरले उद्दार गरी पारिवारिक पुनस्थापना गरिएको छ ।