मनहरीमा ट्राक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख १२, मंगलवार ०७:४४

हेटौंडा । मकवानपुरको मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ हाँडिखोला बस्ने २४ वर्षीय राजकुमार प्रजा, ३० बर्षीय बिरमान रुम्बा, सोही गाउँपालिका वडा नम्वर ४ सालघारी निवासी अन्दाजी २० वर्षीय प्रबिण प्रजा रहेका छन् ।

घाइते भएका राजकुमारको चुरेहिलमा र अन्य दुईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटना घाइते मनहरी–३ का २४ बर्षीय अमृत प्रजा र ४५ बर्षीय जोखलाल प्रजाको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।

बेलुकी करिब ९ बजे मिलडाँडातर्फबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्रयाक्टर मनहरी–३ कालिदमारमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।