नेपालमा उत्पादित सवारीसाधन दर्ताबारे ७ दिनभित्र टुंग्याइने

तु खबर संवाददाता
२०८० बैशाख ११, सोमबार १८:१४
file-photo

काठमाडौं । नेपालमा उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानूनी जटिलता हल गर्न सम्बन्धित कानूनहरु संशोधन गरी मन्त्रिपरिषदमा प्रस्ताव ल्याउने निर्णय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

सवारीसाधन दर्तासम्बन्धी समस्या रहेको विषयमा जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तत्काल समस्या हल गर्न निदेर्शन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरोकारवाला निकायहरुसँग गरेको छलफलमा उक्त निर्णय गरिएको हो ।

बैठकले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन दिनभित्र आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यसैगरी, नेपालमा उत्पादित सवारी साधन दर्ता गर्नका लागि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा आवश्यक सुधार गर्न संशोधनको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सात दिनभित्रमा मन्त्रिपरिषदमा पेश गर्ने व्यवस्था मिलाउने समेत बैठकले निर्णय गरेको छ ।