सिटी होटलको आइपीओमा आवेदन दिने आज अन्तिम मिति

तु खबर संवाददाता
२०८० बैशाख ५, मंगलवार ०८:४६
file-photo

काठमाडौं । सिटी होटलको आईपिओमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । होटलले चैत्र २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो ।

होटलले सर्वसाधारणको लागि भने बैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । उक्त आईपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ ।

सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

जसअनुसार प्रति सेयर १०० अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गरेको र सो मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गरेको छ ।

यसैगरी कम्पनीले कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।