मकवानपुरका मृगौला पीडित चेपाङको उपचारका लागि च्यारिट शो
मकवानपुर । मृगौला पीडित नेपाली कांग्रेस मकवानपुरका नेता रामकृष्ण चेपाङको उपचारका लागि फिल्मको विशेष प्रदर्शनी (च्यारिटी) हुने भएको छ । चलचित्र बुलाकीको आज बिहीबार विशेष प्रदर्शन गर्न लागेको हो ।
कांग्रेससहित विभिन्न पार्टीका नेताहरुले सञ्चालन गरेको रामकृष्ण चेपाङ बचाउ अभियानले नेपाली चलचित्र बुलाकीको विशेष प्रदर्शन गर्न लागेको हो । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का पूर्व अध्यक्षसमेत रहेका चेपाङ विगत करिब १ वर्षदेखि मृगौला रोगबाट ग्रसित छन् ।
कांग्रेस नेता शंकर न्यौपानेको संयोजकत्वमा रामकृष्ण चेपाङ बचाउ अभियान सञ्चालन भैरहेको छ । अभियानमा कांग्रेस, स्वतन्त्र पार्टी लगायतका दलका नेताहरुले सहयोग गरिरहेको अभियानका संयोजक न्यौपाने बताए ।
टिकट विक्री र सहयोग प्रतिबद्धता बापतको रकम संकलन गरी चेपाङलाई हस्तान्तरण गरिने उनले बताए । दिउँसो साढे २ बजे ओम्याक्स हलमा विशेष प्रदर्शनी हुने उनले बताए ।
चेपाङको मृगौला ट्रान्सप्लान्ट र औषधिको लागि करिब ८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो चलचित्र कर्णाली भेगको जनजीवन र प्रथामा आधारित रहेको बताईएको छ । चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् भने यो चलचित्र नारीप्रधान कथानक चलचित्रका रुपमा चर्चामा छ ।
