मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घट्यो

तु खबर संवाददाता
२०७९ चैत्र २९, बुधबार १७:१३
file photo

काठमाडौं । मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको छ । डिजिटल बैंकिङ प्रणालीको प्रयोग तथा उपभोग बढ्दै गएका बेला पहिलोपटक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको हो ।

नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो महिनाको तुलनामा फागुन मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ५ लाख ११ हजारले घटेको हो ।

पुस मसान्तसम्म यस्तो मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या २ करोड ३६ हजार ५२४ रहेको थियो । तर, एक महिनापछि अर्थात् फागुन मसान्तमा आइपुग्दा यस्तो संख्या घटेर १ करोड ९५ लाख २५ हजार ३५७ मा झरेको हो ।

यद्यपि, यता मोबाइल बैंकिङ कारोबार भने १९ अर्ब ७० करोड ५० लाख रुपैयाँले बढेर समीक्षा अवधिमा कूल १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बराबरको ट्रान्सेक्सन भएको बैंकले जनाएको छ ।