मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा समिति गठन

तु खबर संवाददाता
२०७९ चैत्र २५, शनिबार १०:०६

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन गरेको छ । शुक्रबार मन्त्रालयले सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् । साथै गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ सदस्यसचिव छन् ।

सरकारले गत शनिबार मिटरब्याज पीडितको एक समूहसँग ५ बुँदे सहमति गरेको थियो र सो सहमति अनुसार मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकारसम्पन्न आयोग बनाइसकेको छ ।

तर ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति’ले ५ बुँदे सहमतिले आफूहरुको तत्कालको समस्या समाधान नहुने भन्दै काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

उनीहरुले मिटरब्याजीहरुले बनाएको जाली तमसुक खारेज गर्नुपर्ने र मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दाहरु खारेज हुनुपर्ने मुख्य माग राखेका छन् ।