वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्न सघाउने पक्राउ

तु खबर संवाददाता
२०७९ चैत्र २४, शुक्रबार १६:३४
सांकेतिक तस्बिर

काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नासु पशुपति अधिकारी रहेका छन् । उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका ६ जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरुले अधिकारीले आफूहरूलाई मृत्यु भएकाको व्यक्तिका बारेमा जानकारी दिएर आफन्तसम्म पुग्ने गरेको बयान दिएका थिए । अधिकारीसहित सबै अभियुक्तमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।