प्रदेश प्रमुख शर्माले दिए ६६ औं सहकारी दिवसको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले सोमबार देशैभर मनाइँदै गरेको उक्त दिवसको अवसरमा एक विज्ञप्ती जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले समुदायमा छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि सहकारी अभियान प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख शर्माले आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत उपलब्ध साधन एवम् स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको बताए । संघ प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी यसको विकास, नियमन तथा प्रबर्धनका कार्यमा जोड दिईएको समेत प्रमुखले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
उनले सहकारी संस्थाहरु पनि वित्तीय अनुशासन पालना गर्दै समुदायमा आधारित, सदस्य केन्द्रित र यसको मूल्य मान्यता, सिद्धान्त र मर्म अनुरुप अघि बढेमा सहकारी अभियान थप सार्थक बन्ने विश्वास व्यक्त गरे ।
