आजबाट एसईई परीक्षा, ४ लाख ८४ हजार परीक्षार्थी सहभागी हुँदै

तु खबर संवाददाता
२०७९ चैत्र १७, शुक्रबार ०८:०९
file photo

काठमाडौं । आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आजको परीक्षा ११ बजे सकिनेछ ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत बैठक सम्पन्न गरेको थियो । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन ७८ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यो वर्ष परीक्षा दिनका लागि ४ लाख ८४ हजार २२७ जनाले फाराम भरेका छन् । परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र तोकिएका छ ।

यस वर्षको परीक्षामा ५० लाख सेट प्रश्न पत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्न पत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो ।

यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसइई परीक्षामा सहभागी भएको उनको भनाई छ ।

परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।