विराटनगर आन्दोलन : १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते
विराटनगर । विराटनगरमा प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २० भन्दा बढी घाइते भएका छन् ।
मंगलबार दिउँसो विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा २० जना घाइते भएका हुन् ।
झडपमा प्रहरी र आन्दोलनकारी दुवैतर्फ गरी २० भन्दा बढी घाइते भएका हुन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।
पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने र कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए ।
घाइतेमध्ये चार जनाको स्थानीय पारस अस्पतालमा उपचार भइरहेको छ । अहिले प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
