प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे सभामुख घिमिरे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा सदनका कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा सभामुख घिमिरेले चासो राखेको र त्यसैमा छलफल केन्द्रीत भएको स्रोतले बतायो । चैत्र ६ मा प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन पेश भएको थियो । त्यसमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
जसमा ‘विगतमा सभामुखले प्रयोग गर्दै आएका तजबिजी अधिकार कटौती गर्ने’ संशोधन प्रस्ताव सत्तारुढ दलहरुका सांसदहरुले संसदमा पेश गरिएको थियो । सभामुखको तजबिजी अधिकार कटौती हुने गरी संशोधन प्रस्ताव परेपछि सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग परामर्श गर्दै आएका छन् ।
