इँटा उद्योगको पर्खालले किचेर महिलाको ज्यान गयो, दुई जना घाइते
सिराहा । सिराहामा शुक्रबार बिहान इँटा उद्योगको पर्खाल भत्किएर किच्दा एक जना महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको गोलबजार–८ मा रहेको सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा वीवीको ज्यान गएको हो ।
ईटाभट्टीबाट पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएका वीवीको उपचारको लागि लहान लाने क्रममा बाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ ।
प्रहरीका अनुसार, घाईतेहरु ३५ वर्षीय बवी वीवी र ४० वर्षीय ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।
शव पोस्टमार्टमको लागि प्रदेशीक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
