सहकारी दिवस मनाउन प्रदेशस्तरीय समिति गठन

तु खबर संवाददाता
२०७९ चैत्र ७, मंगलवार १६:५९

मकवानपुर । बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ मनाउन प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । हेटौंडामा सम्पन्न सहकारी संघ संस्थाहरुको भेलाले बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरेको हो ।

समितिको प्रमुख सल्लाहकारमा बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोबिन्द रिजाल, सल्लाहकारमा बागमती प्रदेश सहकारी महाशाखाका सहकारी रजिष्टार नारायण प्रसाद ज्ञवाली रहने गरी गठन भएको समितिको सह–संयोजकमा बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण घिमिरे र सदस्य–सचिवमा बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी माहाशाखाका अधिकृत रोहित पोखरेल रहेका छन् ।

यस्तै, समितिका सदस्यहरुमा राष्ट्रिय सहकारी माहासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रिय विषयगत सहकारी संघका बागमती प्रदेश भित्रका सञ्चालक र लेखा समितिका सदस्यहरु, बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष, सम्पूर्ण सञ्चालकहरु, लेखा समिति सदस्यहरु, बागमती प्रदेशका बिषयगत सहकारी संघ लिमिटेडका अध्यक्ष र सम्पूर्ण सञ्चालकहरु एवम् बागमती प्रदेशको १२ वटै जिल्लाका जिल्ला सहकारी संघका अध्यक्ष, संचालक, लेखा समिति सदस्यहरु र पूर्व अध्यक्षहरु, बागमती प्रदेशको १३ वटै जिल्लाका विषयगत सहकारी संघका अध्यक्ष, सबै सञ्चालक, लेखा समिति सदस्य तथा व्यवस्थापकहरु, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडा मूल कार्यक्रममा सहभागी हुने मकवानपुर जिल्लाका स्थानीय पालिका भित्रका प्रारम्भिक सहकारी संस्थाका अध्यक्षहरु, पालिकास्तरीय समन्वय समितिका संयोजकहरु रहनेछन् ।

भेलाले सहकारी दिवसको गतिबिधि र कार्यक्रमलाई व्यवस्थित बनाउन समन्वय गर्नका लागि सचिवालय समेत गठन गरेको छ । सचिवालयमा मूल आयोजक समिति संयोजक देवकोटा, सह–संयोजक बागमती प्रदेश सहकारी संघ लिमिटेडका अध्यक्ष रामशरण घिमिरे, सदस्य–सचिवमा प्रदेश सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेल रहेका छन् ।

सहकारी दिवसको अवसरमा यही चैत्र १८ गते बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम, १९ गते फलफूल वितरण, २० गते बिहान भुटनदेवी मावि हेटौंडाको चौरबाट प्रभातफेरी गरी प्रवचनसहित सभामा परिणत गरी साँझ दीपावली गरी समापन गरिने संयोजक नारायण प्रसाद देवकोटाले जानकारी दिए ।