बागमतीमा तामाङ र नेवारी भाषा सरकारी कामकाजको बनाउन ऐन निर्माण गरिने
मकवानपुर । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी (नेपाल भाषा) कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गरिने भएको छ । शुक्रबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितीमा काठमाण्डौंमा बसेको तामाङ÷नेवारी (नेपाल भाषा) कार्यान्वय तयारी सम्बन्धि समितिको बैठकले उक्त निर्णय गरेको हो ।
अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयमा लगिने मुख्यमन्त्री जम्कट्टेलले जानकार दिए । ‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषा सम्बन्धि ऐन ल्याउन लागेका हौं’, उनले भने ।
यस्तै, समितिका अध्यक्ष तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (बैशाख महिना) भित्र संसदमा पेश गरिने बताइन् ।
एक महिनाअघि सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा उक्त समिति भएको थियो । समितमा श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठसँगै दुई विज्ञ सदस्य डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य रहेका छन् । बागमती प्रदेशमा तामाङ र नेवार समुदयाको बाहुल्यता रहेको छ ।
