आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको ६ वर्षीया छोरी जस्मिन र २ वर्षीय छोरा रोजन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतलले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु भएको हो । घटना भएलगत्तै दुवै जनाको बेहोस भएका थिए । उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो ।
आगलागीमा मगरको अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जल्दा करिब रू १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीले साँझ ६ बजे नियन्त्रणमा लिएको थियो ।
