यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ५ जना प्रहरीको फन्दामा
काठमाडौं । यात्रुसँग निर्धारित भन्दा बढी भाडा असुल्ने पाँच जनालाई प्रहरीले आज (शनिबार) बिहान पक्राउ गरेको छ । काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरमा काम गर्ने काठमाडौंको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दाबढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरेका हुन् ।
निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएकोजनाइएको छ ।
