हेटौंडामा मनायो ४१ औं मगर स्थापना दिवस

तु खबर संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार ०९:१६

मकवानपुर । हेटौंडामा ४१ औं मगर स्थापना दिवस मनाईँएको छ । सोमबार नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम गरी मगर स्थापना दिवस मनाएको हो ।

हेटौंडा–१२ स्थित प्रथम सहिद क्या. लखन थापा मगर स्मृति बाटिकामा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा एवम् संघका अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै मेयर लामाले मकवानपुरमा मगरहरुको एकता राम्रो रहेको र अझ मगरहरुमा एकता बलियो हुनपर्ने कुरामा जोड दिंदै मगर समुदायको भाषा, भेषभूषा, संस्कृति संरक्षण र सम्वर्द्धनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन् । मगर संघ मकवानपुरको आफ्नो भवन नरहेको र आगामी बजेटमा मगर संघको भवनको लागि पनि बजेट विनियोजन गर्ने नगर प्रमुख लामाले बताइन् ।

यस्तै, संघका केन्द्रीय अनुशासन विभाग प्रमुख अशोक शारु मगरले कार्यक्रममा बोल्दै सम्पुर्ण मगरहरु एकजुट हुनुपर्ने र एकजुट भए मात्रै मगरात प्राप्ति हुने बताए ।

कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको मगर संस्कृति झल्किने गायन र नृत्य सहितको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा संघका केन्द्रीय सदस्य अमृता थापा मगर, बागमती प्रदेश सदस्य तथा मकवानपुर इन्चार्ज रामकुमार बोगटी मगर, संघका पुर्ब अध्यक्षहरु, भातृ संस्थाको अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

मगर समुदायले २०१२ सालमा स्थापना भएको तत्कालीन अवस्थामा मगर समाज सुधार समितिको नामबाट देशभरका मगर जातिलाई एक ठाउँमा उभ्याउने प्रयास भएयता विभिन्न चरणमा संस्थाको नाम परिमार्जन हुँदै हाल नेपाल मगर संघ हुन आएको ऐतिहासिक दिन भएकोले २०३९ सालदेखि हरेक वर्ष फागुन १५ गते स्थापना दिवस मनाउन थालिएको हो ।