रास्वपाको बागमती प्रदेश समितिको निर्वाचन सम्पन्न
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समितिको निर्वाचन हेटौंडामा सम्पन्न भएको छ । आईतबार साँझ सम्पन्न निर्वाचनबाट समितिमा ८ जना महिला र ३ जना पुरुष प्रत्यक्ष निर्वाचित भएका छन् ।
प्रत्यक्षतर्फ ११ जना सदस्य चयनका लागि भएको निर्वाचनमा २७ जना आकांक्षी थिए । जसमा महिलातर्फ स्वस्तिका लामिछाने, प्रतिमा कँडेल, जीता बराल, राधिका तिमल्सिना, पुष्पा तामाङ, निर्मला गिरी, सत्या अधिकारी र पूण्य माता घिमिरे प्रदेश समिति सदस्य निर्वाचित भएका हुन् ।
यस्तै, पुरुषतर्फ उत्सव अर्याल, राजन अर्याल र नूरमान निर्वाचित भएका हुन् । कुल २९३ मत खसेकोमा २८६ मत सदर भएको थियो ।
यसअघि प्रदेशका १३ जिल्लाबाट प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक÷एक जनाका दरले ६६ जना प्रदेश समिति सदस्य चयन भइसकेको प्रदेश समिति सदस्य वीरेन्द्र थापाले जानकारी दिए ।
पार्टीको प्रदेश समितिमा प्रत्यक्ष र जिल्लाबाट सिफारिस भएर आएका सदस्य गरी ७७ जनाको सभाले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछन् । प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र प्रवक्ता एक–एकजना रहने व्यवस्था छ ।
प्रदेश समितिको सभापतिले ३ जना सदस्य मनोनित गरेपछि प्रदेश समिति ८० सदस्यीय हुनेछ ।
