संवैधानिक परिषद्को विवादास्पद विधेयक फिर्ता

तु खबर संवाददाता
२०७९ फाल्गुन ५, शुक्रबार १६:१५
file-photo

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले शुक्रबार विधेयक फिर्ता लिएको संसद सचिवालय स्रोतले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि अध्यक्षसहित तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । सोही अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्का ३ जना मात्र उपस्थित भएर संवैधानिक निकायहरुमा धमाधम नियुक्ति सिफारिस गरेको थियो ।

ओली सरकारले २०७९ असार २२ मा संवैधानिक परिषदसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो । जसमा अध्यक्ष र तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने व्यवस्था गरिएको थियो ।

सरकारले यही फागुन १० गते बस्ने प्रतिनिधि सभाको बैठकमा नयाँ विधेयक पेस गर्ने उक्त विधेयक फिर्ता लिएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।