प्रदेशको नीति तथा योजना आयोगले पायो पूर्णता
मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगलाई पूर्णता पाएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा योजना आयोगलाई पूर्णता दिएको हो ।
बैठकले आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ र डा.जयन्त खनाललाई नियुक्त गरेको सरकार प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । यसअघि गएको माघ २४ गते आयोगको उपाध्यक्षमा डा.होमनाथ चालिसेलाई नियुक्त गरेको थियो ।
यस्तै, बैठकले प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित गरेको छ । गत माघ १० गतेको मन्त्रिपरिषद बैठकले प्रदेशमा सुशासन कायम गर्न भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा खर्च कटौतीका लागि अध्ययन कार्यदल गठन गरेको थियो ।
बैठकले १५ दिनको समय सिमा दिएर उक्त कार्यदलले प्रदेशका विभिन्न निकायहरुमा हुने गरेको अनावश्यक खर्चहरुलाई कटौती गर्ने तयारी गरेको थियो । सोही अनुसार कार्यदलले गत २४ गते मन्त्रिपरिषदमा खर्च कटौती सम्बन्धी प्रतिवेदन पेश गरेको थियो ।
बैठकले प्रदेश निजामती सेवाको गठन संचालन र सेवा सम्बन्धी प्रतिस्थापन विद्येयक र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धी प्रतिस्थापन विद्येयक संसदमा लैजाने निर्णय गरेको छ ।
प्रदेश सरकारले संसद संचालनका लागि विभिन्न समयमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ जारी गरेको थियो भने गत पुस १८ गते बसेको प्रदेशसभा बैठकमा उक्त अध्यादेशहरु पेश गरिएको थियो ।
माघ २ गतेको प्रदेशसभा बैठकले सो अध्यादेशहरुलाई कानुन निर्माणका लागि स्वीकृती प्रदान गरेको थियो । उक्त अध्यादेशलाई प्रतिस्थापन विधेयक ल्याएर कानूनी मान्यता दिनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले संसदमा लैजाने निर्णय गरेको उक्त प्रतिस्थापन विद्येयकहरु संसदीय समितिमा छलफल भई फागुन १८ गतेभित्र पास गरी प्रमाणीकरणसमेत गर्नुपर्नेछ ।
बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्थानबाट हेटौंडा अस्पताल अलग गर्ने गरी यसअघिको सरकारले जारी गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन अध्यादेशलाई निष्कृय गर्ने निर्णय गरेको छ ।
