एक थान भरुवा बन्दुकसहित ४ जना पक्राउ

तु खबर संवाददाता
२०७९ माघ २९, आईतवार ०९:०६
file-photo

रौतहट । सप्तरीको वन गस्ती टोलीले शनिबार एक थान अवैध भरुवा बन्दुकसहित ४ जना सिकारीलाई पक्राउ गरेको छ । कञ्चनपुर सब डिभिजन बन कार्यालयका सहायक प्रमुख राजेश कुमार साहको कमाण्डमा गएको सशस्त्र बन गस्ती टोलीले उक्त भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कञ्चनपुर नगरपालिका १२ का २६ वर्षीय भोला श्रेष्ठ,सोही ठाउँमा ३६ वर्षीय प्रकाश श्रेष्ठ, ३१ वर्षीय दुर्गा नारायण श्रेष्ठ र उदयपुर त्रियुगा नगरपालिका १० का २८ वर्षीय प्रह्लाद राई रहेका छन् ।

केही सिकारीहरू कञ्चनपुरस्थित जङ्गलमा चोरिसिकारी गर्न पसेको प्राप्त सूचना को आधारमा गस्ती गर्दै जाँदा गएराती वनक्षेत्रबाट उनीहरू पक्राउ परेका थिए ।

प्रहरीले उनीहरूको साथबाट एक थान भरुवा बन्दुक, बारुद तथा छरराहरु बरामद गरेको छ । पक्राउ परेका चार जनालाई भरुवा बन्दुक तथा बरामद अन्य सामानसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको वन कार्यालयले जनाएको छ ।