मकवानपुर गोल्डकपको तयारी अन्तिम चरणमा
मकवानपुर । पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले क्याम्पा रंगशालामा माघ २८ गते शनिबारबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा आयोजक जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाले गोल्डकपमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहने बताए ।
प्रतियोगितामा आयोजक मकवानपुर–११, नव जनजागृती युवा क्लब सिमरा, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, सातदोबाटो क्लब ललितपुर, मनाङ् मस्र्याङ्दी क्लब काठमाडौं, फ्रेण्ड्स क्लब ललिततपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, एनआरटी क्लब काठमाडौं, बागमती युवा क्लव सर्लाही, विरगंज युनाइटेड पर्सा, र एभिनियर एफसी क्यामरुनको सहभागिता रहनेछ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल, विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाको मेयर मीनाकुमारी लामाले गर्ने कार्यक्रम तय भएको र प्रतियोगिताको समापन फागुन १० गने एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने तय भएको आयोजकले जनाएको छ ।
