लागूऔषधसहित तीन जना मकवानपुरको फन्दा

तु खबर संवाददाता
२०७९ माघ २५, बुधबार १५:५०
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैसेबाट अन्दाजी ९ किलो लागूऔषध गाँजासहित मंगलबार राति तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका–९ खरङ्गा बस्ने २९ वर्षीय होमलाल मोक्तान, बैतडी रिम गाउँपालिका–६ घर भई हाल हेटौंडा–१४ नं. सशस्त्र प्रहरी गणमा कार्यरत ३० वर्षीय कृष्ण जोशी र हेटौंडा–८ कमाने बस्ने ४५ वर्षीय सुर्य बिश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नाउव उपरीक्षक कार्कीका अनुसार, मंगलबार राति २०ः१५ बजेको समयमा चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह १४९१ नम्वरको अटोलाई शंका लागि चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरी निजहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका बिश्वकर्मा अटो चालक हुन भने अन्य दुई जना सवार रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।