लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ माघ २३, सोमबार ०९:०९

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध अनरेक्स १ सय एमएलको ३५८ बोत्तलसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा पर्साको जगरनाथपुर गाउँपालिका–१ विसुनपुर्वा बस्ने २० वर्षीय अबु अयुब असरफ र वीरगञ्ज–२ छपकैया बस्ने २८ वर्षीय ईजहार आलम रहेका छन् ।

आइतबार मध्यान्न वीरगञ्ज– १६ रजतजयन्ती चोकबाट जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जको टोलीले संयुक्त रुपमा चेकजाँच गरिरहेको थियो ।

सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा ना.२ च ७९०५ नम्वरको टाटा सुमो भिक्टा गाडीको बर्नट भित्र सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाएर राखिएको प्रतिबन्धित लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।