प्रदेश प्रमुख शर्माले प्रदेशसभाका सदस्यहरुलाई सम्बोधन गर्ने
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाका सदस्यहरुलाई सम्बोधन गर्ने भएका छन् । प्रदेश प्रमुख शर्माले संवैधानिक प्रकृया अनुसार, यही माघ २६ गते अपराह्न १ बजे प्रदेशसभा बैठकमा प्रदेश सदस्यहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख भुवनकुमार पाठकले आज बसेको बैठकमा जानकारी दिए ।
साथै सभामुख पाठकले उक्त दिन प्रदेशसभाको सदस्यहरुलाई मर्यादित पोशाकमा उपस्थित हुन पनि अनुरोध गरेका छन् । यस्तै, बैठकमा आज बिहान बसेको सर्वदलीय बैठकले सभामुख पाठकको संयोजकत्वमा १६ जना सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको थियो । उक्त समितिलाई आजै बसेको प्रदेशसभाको बैठकले अनुमोदन गरेको छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।
प्रदेशसभाको अर्को बैठक भोलि माघ २३ गते अपराह्न १२ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।
