सुस्मिता हत्यामा संलग्न ४ जनालाई जन्मकैद र एक जनालाई १० वर्ष कैदको फैसला

तु खबर संवाददाता
२०७९ माघ ७, शनिबार १७:२०

मकवानपुर । जिल्ला अदालत मकवानपुरले हेटौंडा –४ की २४ वर्षीया सुस्मिता केसीको हत्यामा संलग्न चार जनालाई जन्मकैद र एक जनालाई १० वर्षको कैदको फैसला गरेको छ ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले सुस्मिता हत्यामा संलग्न उनकी ससुरा ५८ वर्षीय प्रकाश थापा, जेठी नन्द २७ वर्षीया दुर्गा थापा, कान्छी नन्द २३ वर्षीया सीता थापा र ज्वाईँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैदको फैसला गरेको छ भने सुस्मिताकी सासू ५० वर्षीया तुलसाकुमारी थापालाई हत्याको मतियार ठहर गर्दै १० वर्ष कैदको फैसला गरेको हो ।

२०७७ असार १ गते राति हेटौंडा–४ कर्रास्थित घरमा विभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव भान्सा कोठामा फेला परेको थियो । प्रहरीले घटना भएको केही दिनमै हत्या आरोपमा निजकी ससुरा, सासु, दुई जना नन्दलाई पक्राउ गरेको थियो भने ज्वाईँले केही महिनापछि मकवानपुर प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुरा, नन्द मिलेर पछाडिबाट काठले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

यस अघी पुर्पक्षमा रहेका मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीय सासू तुलसा, नन्दहरू २७ वर्षीय दुर्गा, दुर्गाका श्रीमान अरुण कार्की र २३ वर्षीय नन्द सीता थापालाई पुस २३ गते जिल्ला अदालत मकवानपुरले दोषी ठहर गरेको थियो।पुर्पक्षका लागि थुनामा रहेका उनीहरुलाई पुस २३ गते न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले दोषी ठहर गरेको थियो ।