‘नेपाली पर्वहरूले नेपाली पहिचान निर्माण गर्न योगदान पुर्याएको छ’

तु खबर संवाददाता
२०७९ माघ १,आईतवार ०९:०६
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सु–संस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने बताएकी हुन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु ।’

विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले मुलुकलाई विश्वसामू परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनको भनाइ छ ।

‘सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपति भण्डारीले भनेकी छन् ।