पार्टीको निर्देशन विपरित मन्त्रीको दावी गरेपछि बागमतीको उपसभामुखमा परेन उम्मेदवारी
मकवानपुर । बागमती प्रदेशसभाको उपभामुख पदको निर्वाचनको लागि कुनै पनि उम्मेदवारी परेको छैन । उपसभामुख पदको लागि आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्मको लागि तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी नपरेको बागमती प्रदेशसभा सचिवालयका सचिव एवम् निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए ।
सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभाको उपभामुख पद एमालेको भागमा परेको थियो । उपसभामुखका निम्ती नेतृ भारती पाठकलाई उम्मेदवारी दर्ताको लागि एमालेले निर्देशन गरेको थियो । पार्टी निर्देशन विपरित उनले मन्त्री पद पाउनुपर्ने दावी गरेपछि उपसभामुख पदमा आज उम्मेदवारी दर्ता हुन नसकेको एमाले स्रोतले जनायो ।
नेतृ एवम् प्रदेशसभा सदस्य पाठकले भने उपसभामुख पदको लागि आफुलाई पार्टीबाट कुनै पनि निर्देशन नआएको तु खबरलाई बताइन् ।
उक्त उपसभामुख पदको निर्वाचन भोलि पुस २९ गते सभामुखको निर्वाचन सकिएलगतै बस्ने बैठकले निर्वाचनका कार्यतालिक सार्वजनिक गर्ने सहमति गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभाका सचिव खड्काले बताए ।
प्रदेशसभाको सभामुख पदको लागि भने तीन जनाको उम्मेदवारी परेको छ । सभामुख पदमा सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठक, नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट सृजना सैजुले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव खड्काका अनुसार, सभामुखका लागि उम्मेदवारी दर्ता गराएका राप्रपाका पाठकको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल, कांग्रैसका अधिकारीको प्रस्तावकमा कुन्दन काफ्ले र समर्थनमा रामकृष्ण चित्रकार, नेककिपाकी सैजुको प्रस्तावकमा गीता काफ्ले र समर्थनमा सुरेन्द्रराज गोरसाईँ रहेका छन् ।
आजै अपराह्न ४ बजेपछि सर्वदलीय बैठक बसेर प्रदेशसभाको नियमित बैठक र उपसभामुखको निर्वाचनको कार्यसूची तयार गरिनुपर्ने सचिव खड्काले बताए ।
